सुनसरी । तेस्रो ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ सुनसरीको इटहरीमा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन संघले संयोजन गर्नेछ । कार्यक्रम आउँदो वैशाख २० मा हुनेछ । पहिलो संस्करण काठमाडौं र दोस्रो गत वर्ष पोखरामा भएको थियो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमका दिन वाकाथन हुनेछ । त्यसै दिन सन् १९८८ को सोल ओलम्पिक खेलेका नेपाली ओलम्पियनलाई सम्मान गरिने छ । ओलम्पियन संघले दुई संस्करणमा १९६४ देखि १९८४ का विभिन्न ५ संस्करण खेलेका ओलम्पियनलाई सम्मान गरिसकेको छ ।