इटहरी । सिरुवा पर्व सुरु भएसँगै आज इटहरीको प्रतिष्ठित कचना थानमा बैगुनको भार चढाएर मनाइएको छ । थारु समुदायले वर्षको पहिलो महिना वैशाख भर सिरुवा पर्व मनाउँछन् । इटहरीमा लाग्ने ठुलो मेला मध्येको एक रहेको टेङ्ग्रा मेलामा कचना थानमा बैगुनको भार चढाएर मनाइएको हो । यो मेला बैगुने मेलाको रूपमा पनि प्रचलित रहेको छ । 

थारु जातिलाई इटहरीको पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ । थारु समुदाय प्रति सम्मान व्यक्त गर्दै सार्वजनिक बिदा दिएको उपमहानगरले जनाएको छ ।  
इटहरी ४ मा रहेको कचना थान( मन्दिर)मा बैगुनको भार चढाउन सुनसरी, मोरङ,झापा,सप्तरी देखी भारतका छिमेकी जिल्लाबाट पनि आउने गरेका छन् । यो मेलामा बैगुनको भार, फूल घडा र पानसुपाडी चढाउन थारु समुदायसँगै सँगै ठुलो सङ्ख्यामा अन्य समुदायका मानिसहरू आउने गरेका छन् । 
यता, आज बिहानै कचना थानमा पुगेर इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पनि पूजा अर्चना गर्दै बैगुनको भार चढाएका छन् । 

siruwa

थानमा बैगुनको भार चढाए शरीरका छाला सम्बन्धी रोग निको हुने, भाकल गरेका कुरा पुरा हुने जनविश्वास रही आएको  ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । शरीरमा आउने मुसा लगायत गाँठागुठीँ, दागहरू हराएर जाने गरेको उनले जानकारी दिए । 
थानमा पूजा गर्न साथै मेला भर्न ठुलो सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् ।मेलामा जुलवी निकै प्रचलित छ । यस्तै खेलका विभिन्न सामाग्रीहरू पनि राखिएका छन् ।