विराटनगर । बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि पाँच सय ४७ मतदाता थपिएका छन् । बढेको मतदाताको संंख्या सहित वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । इलाम–२ मा छ वटा पालिकाका ४२ वटा वडा छन् ।

सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका ९,१० वडाबाहेक र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।

चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा ९ र १० वडा बाहेक ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।।