विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।  
वडा नम्बर १४ को कार्यालय परिसरमा मङ्गलवार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गरे । स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क उपलब्ध गराएको २ कट्ठा १० धुर जमिनमा भवन निर्माण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए । स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य उपकरण क्रमैसँगै व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा विराटनगरलाई मोतियाबिन्दु मुक्त बनाउने अभियान सञ्चालन, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण, निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदानलगायतका कार्यलाई महानगरले जारी राखेको मेयर कोइरालाले जानकारी दिए । 
त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अगाडि बढाइरहेको जानकारी दिइन् ।  उनले महानगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भौतिक संरचना निर्माण भएर मात्रै नहुने बताउँदै सेवा प्रवाहलाई गुणस्तरीय र सहज बनाउनुपर्नेमा जोड दिए । नवनिर्मित भवनमा स्वास्थ्य उपचारसँगै स्वास्थ्यसँग सम्बन्धित तालिमलगायतका कार्य गर्नसमेत सहज हुने उनको भनाइ थियो । 
कार्यक्रममा जग्गादाता जगदीशप्रसाद यादवलाई महानगरपालिकाका तर्फबाट सम्मान गरिएको थियो । यादवलाई मेयर कोइराला र उपमेयर कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा जसपा मोरङका उपाध्यक्ष मन्तलाल यादव, नेपाली कांग्रेसका युवा नेता रमेश राजवंशी, नेकपा एमालेकी नेतृ सुनिता श्रेष्ठ, माओवादी केन्द्रका मनोज कामत, वडासदस्य दिनानाथ यादव, महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादव, वडा सचिव पृथ्वी बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भवनमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतका लागि र्याम्प, शौचालय, ८ कोठा र एउटा हल रहेको छ । २४ सय स्क्वायर फिटको सो भवन निर्माण सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च भएको महानगरको भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । ९६ लाख लागत अनुमान गरिए पनि ७५ लाखमा भवन निर्माण सम्पन्न भएको थापाले बताए ।