विराटनगर । नेपालमा बाँझोपनको समस्या समाधान कोलागि सरकारले अझै तथ्याङ्क राख्न नसकेको सरोकारवालाले बताएका छन् । नेपालमा बाँझोपन सम्बन्धी यकिन तथ्याङ्क नभए पनि समस्या बढ्दो रूपमा रहेको एक कार्यक्रममा जानकारी गराइएको हो ।  ओरेक नेपालले विराटनगरमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निःसन्तानपनाको सवाल विषयमा भएको अन्तरक्रिया कार्यक्रममा चेतनाको कमी, ढिलो विवाह, बढ्दो बिदेसिने क्रम, उपचारको सीमितता, पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलङ्क ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको जानकारी गराइएको हो । बाँझोपन उपचार सेवालाई सङ्घीय अस्पतालहरूमा विस्तार गर्ने सरकारको लक्ष्य भए पनि सो अनुसार काम नभएको कार्यक्रममा पत्रकारहरूको भनाई छ । ओरेक विराटनगरका प्रमुख सरस्वती दनुवारले स्वास्थ्य संस्थाहरूले निःसन्तानपनाको सेवा दिए पनि मुलत: महिला केन्द्रित रहेको पाइएको बताइन् ।  विभिन्न २४ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा गरिएको सर्वेक्षणका अनुसार निःसन्तानपनको विषयमा महिलालाई नै बढी दोष दिने गरेको पाइएको उनले जानकारी दिइन् । 

निःसन्तानपनाको सेवा र प्रविधिबारेमा सेवाग्राहीबाट ‘थाहा छैन’ भन्ने जवाफ आउने गरेको  जानकारी दिइन् ।  सरकारले महिलाको निःसन्तानपना सम्बन्धी आवश्यक विश्लेषण गरी अझै पनि सम्बोधन हुन नसकेको उनको भनाई छ।  घरपरिवार, छिमेकमा बालबच्चा नभएपछि महिलालाई हेप्ने, अपशब्द प्रयोग गर्ने, मानसिक समस्याको सिकार भएको पनि सोही अवसरमा जानकारी दिइएको थियो ।  ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले  सर्वेक्षणका अनुसार स्कृनिङ गर्नकोलागि मात्र अस्पतालसम्म पुग्ने तर त्यहाँ उपचार नै गर्नु पर्छ भन्ने मनस्थितिबाट अस्पतालसम्म पुग्नेको सङ्ख्या असाध्यै न्यून रहेको उनले जानकारी दिइन् ।   विश्वस्वाथ्य सङ्गठनको तथ्याङ्कलाई प्रस्तुत गर्दै उनले निःसन्तानपनको १० देखि १५ प्रतिशत  सन्तान विहीन रहेको र बाँझोपना ८ देखि १० प्रतिशतमा रहेको जानकारी गराइन् ।  कार्यक्रममा २ दर्जन बढी पत्रकार सहभागी थिए ।