विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली  गठन गरेको छ ।

प्रदेशको नामकरण पछि चली रहेको आन्दोलनका विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा भौतिक पूर्वाधार मन्त्री  गणेश प्रसाद उप्रेती  आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका छन् ।


यस्तै वार्ता टोलीको सदस्य सचिव आन्तरिक मामिला तथा कानुन सचिव लक्ष्मी प्रसाद पौडेल नियुक्त भएका छन् । यस अघि प्रदेश सरकारसङ आन्दोलनरत पक्षको पटक पटक वार्ता  भएको थियो । तत्कालीन मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा गठित वार्ता टोलीसङ भएको वार्तामा कोशी प्रदेश सरकार र प्रदेशको खारेज गरी पुनःनामाकरण सङ्घर्ष समितिबिच ५ बुँदे सहमति भएको थियो ।  

वार्तामा संविधानसम्मत ढङ्गले प्रदेशको पुनःनामाकरण गर्न संयुक्त रूपमा राजनीतिक वातावरण बनाउने सहमति भएको हो । सहमतिमा पहिचान पक्षले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएका आन्दोलनकारीको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने, उनीहरूमाथि लगाइएका राजनीतिक मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते पहिला नै दुवै पक्षको सहमतिमा पुनः वार्ताको मिति तोक्ने सहमति भएको थियो ।

माघ २६ गते भएको सहमति पछि थप वार्ता हुन सकेको थिएन । तत्कालीन सरकार परिवर्तन भएपछि आज बसेको  प्रदेश सरकारको मन्त्री परिषद् बैठकले वार्ता टोली पुन गठन गरेको छ । बैठकले प्रदेश योजना आयोगका सदस्यहरू समेत मनोनयन गरेको छ ।

बैठक डा :सिताराम बस्नेत  काठमाडौँ  किशोर कुमार राई सोलुखुम्बु , भवानी बराल धरान , नमिता न्यौपाने  विराटनगर लाई सदस्यमा मनोनयन गरेको मन्त्री लिलाबल्लभ अधिकारीले बताए ।