विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रदेश सभामा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा पेस गरेको बजेट बहुमतले पारित भएको हो ।  आगामी आर्थिक वर्ष २०८१/०८२ कोलागि प्रस्तुत गरेको ३५ अर्ब २७ करोड ९३ लाख बजेट बहुमतले पारित भएको हो । प्रदेश रकारले प्रस्तुत गरेको बजेटमा चालु  तर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको छ ।  
जस मध्ये चालु  खर्च  मध्ये सङ्घीय अनुदान फिर्ताको लागि ३ अर्ब राखिएको छ।   प्रदेश सरकारको आन्तरिक राजश्व ४ अर्ब ९८ करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब १४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च बेहोरिने भनिएको छ।  बाँकी मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख बेहोरिने उल्लेख गरिएको छ।  

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सत्ता पक्षीय सांसदहरूले नै आलोचना गरेका थिए । कोशी प्रदेश सभामा बोल्ने मन्त्री तथा मुख्यमन्त्रीले केही सामान्य त्रुटि भए पनि त्यसलाई आगामी दिनमा संशोधन गरेर जाने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो । मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा धेरै बजेट हालिएको र समानुपातिक बजेट वितरण नभएको आरोप सरकार माथि लाग्दै आएको छ।