सुनसरी । सुनसरी मोरङ औद्योगिक कोरिडोर अन्तर्गत दुहबी ६ मा सञ्चालित दुई वटा छाला उद्योगबाट निस्कने दुर्गन्धले नगरवासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । दुहबी ६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरु उद्योग विरुद्ध आन्दोलित बनेका हुन ।
भैँसी तथा राँगा लगायतका जनवारको छाला प्रशोधन गर्ने ती दुई वटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगले छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल सिधै स्थानीय बुढी खोलामा मिसाउने गरेको छ भने राँगा तथा भैँसीको छाला उद्योग कम्पाउन्डमै खुल्लमखुल्ला सुकाउने गर्दा दुर्गन्ध फैलिने गरेको छ ।
उद्योगबाट फैलिने दुर्गन्ध र फोहरले बालबच्चा र बृद्धबृदा बढी प्रभावित भएको स्थानीय कुन्दन पासवानले बताए । माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले बारम्बार लापरबाही गर्ने गरेको पासवानको भनाई छ । उद्योगबाट निस्कने दुर्गन्धले गर्दा घरमा कोही पनि पाहुना आउन नमान्ने गरेको अर्का स्थानीय मोहम्मद सलमानले बताए । प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा उजुरी दिए पनि सुनवाइ तथा उद्योगी विरुद्ध कुनै कारबाही नभएकोमा स्थानीय आक्रोशित बनेको सलमानले बताए ।
स्थानीयले पटक पटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उपप्रमुख सहितको न्यायिक समितिले सोमबार उद्योगको अनुगमन गरेको छ । अनुगमनको क्रममा दुर्गन्धित रूपमा सञ्चालनमा रहेको उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन । उनले भनिन - उद्योग पुरै लापरबाही किसिमले सञ्चालनमा रहेछ, दुर्गन्ध फैलिएर स्थानीय आजित रहेछन् कारबाही गर्नुको विकल्प छैन, दुर्गन्धित अवस्थामा सञ्चालित उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्छौ । उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेको पाइएकाले सञ्चालकलाई मङ्गलवार कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले जानकारी दिइन ।
२०६२ सालमा दर्ता रहेको उद्योग बिच बिचमा बन्द हुँदै सञ्चालन आएका थिए । विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटक पटक जरिवाना गरे पनि अटेर गर्ने गरेको दुहबी ६ का वडा अध्यक्ष घनश्याम हलुवाईले बताए ।