विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले आयोजना गर्ने कृषि एक्स्पोको तयारी तीव्र पारिएको छ।   यही भाद्र २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा आयोजना गर्ने एक्स्पोको तयारी सम्बन्धमा महासङ्घले इलामको सूर्योदय नगर पालिकाको सभा हल  र उद्योग वाणिज्य सङ्घ बिर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य सङ्घ, विभिन्न वस्तुगत सङ्घ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, कृषि व्यवसायी तथा कृषकहरूसँग अन्तरक्रिया गरेको हो । 
विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले आयोजना गर्न लागेको महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।  एक्स्पोलाई कोशी प्रदेश  सरकार,  उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्विस सरकार विकास सहयोगको प्रवर्द्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउँ पालिकाको सहकार्यमा कृषि एक्स्पो हुन गइरहेको राउतले जानकारी गराए । 
कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी हुनका साथै कृषि विज्ञबाट प्यानल डिस्कशन, विटुवी छलफल लगायत एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू आएर परामर्श दिने कार्यक्रम रहेको आयोजकको दाबी छ ।  ‘कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरूको उद्योग स्थापना गर्न प्रेरित गर्ने गरी कृषक र उद्योगीहरू बिच समन्वय गराउने कार्यक्रम रहेको छ, राउतले भने,  जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको छ ।’
birtamod (2)
इलाममा भएको छलफलमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले खुसी व्यक्त गर्दै यसलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्ण रूपमा सहयोग रहने बताए ।  विगतमा रमाइलो मेला मात्र आयोजना भइरहेको र आम्दानी कसरी आउँछ भन्ने होडबाजीमा मेला महोत्सव आयोजना हुने गरेकोमा यस पटक महासङ्घले परिणाम आउने गरी एक्स्पोको तयारी गरेकोमा सकारात्मक विषय भएको बताए ।  कार्यक्रममा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, पाँचथर उद्योग वाणिज्य सङ्घ, इलाम उद्योग वाणिज्य सङ्घ, सूर्योदय नगर उद्योग वाणिज्य सङ्घ, झापा उद्योग सङ्घ, मेची उद्योग वाणिज्य सङ्घ, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधि लगायत सहभागी थिए ।  कृषि व्यवसायी र कृषकहरूले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रदर्शनी हुनका साथै  कृषि सम्बन्धी जानकारी गराउन विज्ञहरूको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिन अनुरोध गरेका थिए ।  
बिर्तामोड उद्योग वाणिज्य सङ्घमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य  नरेन्द्रकुमार खडकाले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएको बताए ।  नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष  निर्मल भट्टराईले यो एक्स्पो सबैसँग जोडिएको हुँदा यसलाई सफल बनाउन अलैँची व्यवसायी महासङ्घको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।  महिला उद्यमी गोमा भट्टराईले महिला उद्यमीहरूले उत्पादन गरेका बस्तुलाई प्राथमिकता दिनु पर्ने बताइन् ।  बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख  राजेन्द्र कँडेलले ठुला औजार मात्र नभई  कृषकको पहुँचमा हुने खालका हाते औजार हुनु पर्ने, चिया, कफी, फलफूल, अलैँचीको उत्पादनमा सहज हुने औजार राखिनु पर्ने कुरामा जोड दिए।  चिया उत्पादक सङ्घका अध्यक्ष  आदित्य पराजुलीले चियाका विभिन्न उत्पादनहरू एक्स्पोमा रहने बताउँदै विषादीयुक्त होइन विषादी मुक्त खाद्यवस्तुको प्रयोग गरौँ भन्न सन्देश एक्स्पोमा दिनु पर्ने बताए । 
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घ, मेची उद्योग वाणिज्य सङ्घ, अलैँची व्यवसायी महासङ्घ, चिया उत्पादक सङ्घ, बिर्तामोड नगर पालिका लगायत विभिन्न कृषि व्यवसायी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको  महासङ्घका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।