विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ करम डाँडामा मङ्गलवार बिहान छावा हात्ती मृत अवस्थामा फेला प¥यो । 

अन्दाजी ४ वर्षको पोथी छावा मृत फेला परेपछि स्थानीयले जिल्ला बन कार्यालय मोरङमा खबर गरे  । हात्ती मारिएको हो वा मरेको हो भन्ने चाहिँ अझै खुलिसकेको छैन । पोस्टमार्टम भइरहेको भए पनि प्रारम्भिक रिपोट अनुसार खेती जोगाउन लगाएको विद्युतीय पासोमा परेर छावा मरेको हो । 

डिभिजन बन कार्यालय मोरङका निमित्त प्रमुख हेमन्त पराजुलीले भने पोस्टमार्टम रिपोट आइ नसकेकाले छावाको के कारणले मृत्यु भयो भनेर खुली नसकेको बताए।  

यस अघि जेठ ३० गते सुन्दर हरैचा नगरपालिका वडा नम्बर ६ मा पनि हात्तीको छावा मृत फेला परेको थियो । सो छावा हात्तीको सुँडमा चोट लागेकाले गोली हानी मारिएको आशङ्का छ । 

स्थानीय भत्तराज लिम्बुको केरा बगानमा मृत फेला परेको सो हात्ती अन्दाजी ६ वर्षको भाले भएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । 

डिभिजन बन कार्यालय मोरङका अनुसार गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैचा–१० स्थित जनजागरण सामुदायिक वनमा जङ्गली हात्ती मृत भेटिएको थियो । 

१० –१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको डिभिजन बन कार्यालय मोरङले जनाएको छ । सो हात्तीको दाँत समेत काट्ने प्रयास भएको थियो । दाँत समेत काट्न खोजिएकाले तस्करले हात्ती मारेको अनुमान गरिएको छ । तर घटनामा संलग्नहरूलाई भने अहिले सम्म पक्राउ गरिएको छैन 

पर्यटन बन तथा वातावरण मन्त्रालय कोशीका अनुसार पछिल्लो एक वर्षमा हात्तीको मृत्यु हुने क्रम बढ्दो  छ । 

आर्थिक वर्ष २०८०/ ८१ देखि अहिले सम्म झापा र मोरङमा मात्रै ७ वटा हात्ती मृत फेला परेका छन् । ती मध्ये सवैभन्दा बढी झापामा हात्ती मरेका छन् । 

मन्त्रालयका वन्य जन्तु तथा उद्यम शाखाका प्रमुख दीपक पोखरेलले झापामा यो एक वर्षको अवधिमा झापामा ४ वटा हात्ती मृत फेला परेका छन् । ती मध्ये अधिकांश छावा रहेका छन् । यस्तै मोरङमा ३ वटा हात्ती मृत फेला परेका छन् । 

कोशी प्रदेशका झापा मोरङ सुनसरी र उदयपुर क्षेत्रमा पछिल्लो एक दशकमा मानव हात्ती द्धन्द बढेको छ । द्धन्द बढेसँगै हात्ती मारिने क्रम पनि बढेको कोशी टप्पु वन्य जन्तु आरक्षका संरक्षण अधिकृत रमेश कुमार यादवले बताए । 

आरक्षका अनुसार २०६८ साल यता कोशी प्रदेशमा ३६ वटा हात्ती मृत फेला परेका  छन् । ती मध्ये सबै भन्दा बढी झापामा २० वटा हात्ती मृत फेला परेको आरक्ष कार्यालयको तथ्याङ्कमा उल्लेख छ । झापा पछि मोरङमा यो अवधिमा ९ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । 

आरक्ष कार्यालयका अनुसार कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पनि हात्तीहरू मरिएका छन् । संरक्षण अधिकृत यादवका अनुसार मध्यवर्ती क्षेत्रमा ६८ साल यता  ६ वटा हात्ती मृत मृत फेला परेका हुन् । उदयपुर जिल्लामा एउटा हात्ती मृत फेला परेको छ । मध्यवर्ती क्षेत्रसँगै जोडिएको सप्तरीमा पनि एउटा हात्ती मृत फेला परेको थियो । 

हात्ती मार्न विद्युतीय पासो 

यादव कोशी टप्पु वन्य जन्तु आरक्षमा संरक्षण अधिकृत भएर आएको दुई वर्ष पुग्न लाग्यो । दुई वर्षको अवधिमा हात्तीको नेचुरल डेथ सङ्ख्या एउटा मात्रै छ । त्यो पनि रेड जोनमै राखेर नुचुरल भनिएको उनी बताउँछन्  । 

एक वर्ष अघि उदयपुरमा मृत फेला परेको हात्तीको चाहिँ नेचुरल डेथ हो कि भन्ने छ । यादवले भने,पर्याप्त श्रोत र साधन अभावका कारण रेड जोनमै राखेर नुचुरल भनिएको हो । प्रदेश भरि मृत फेला परेका हात्तीको पोस्टमार्टम गर्ने जनशक्ति आरक्ष कार्यालयसँग मात्रै छ । उनले त्यो पनि पर्याप्त नभएको बताए । 

कार्यालयका अनुसार मृत फेला परेका हात्ती मध्ये ९५ प्रतिशत हात्ती विद्युतीय पासोका कारण मारिएका हुन् । ३ प्रतिशत जति गोली हानेर  हात्ती मारिएको छ भने एक देखि दुई प्रतिशत हात्तीको स्वाभाविक मरण भएको आरक्ष कार्यालयले जनाएको छ । 

संरक्षण अधिकृत यादवले भने, हामीले अहिले सम्म मृत फेला परेका हात्तीको पोस्टमार्टम रिपोट हेर्दा  ९५ प्रतिशत भन्दा बढी हात्ती विद्युतीय पासोमा परेर मारेको फेला पार्यौ।  मृत फेला परेका मध्ये ३ प्रतिशत हात्ती गोली हानेर मारिएका छन् । 

hateeee1

खेती प्रणाली फेरिदा हात्ती  थ्रेटमा 

नेपालीमा एउटा उखान छ हात्ती लम्किएको र घोडा चम्किएको मिल्दैन । अर्थात् हात्ती लम्किदा पनि घोडा भन्दा छिटो हिँड्न सक्छ । यही उखानलाई मेल खाने कुरा गर्छन् डा अशोक राम । उनी कोशी टप्पु वन्य जन्तु आरक्षका पूर्व संरक्षण अधिकृत हुन् । उनले हात्तीको इकोलोजी र मानव हात्ती द्वन्द्वका विषयमा विद्यावारिधि गरेका ।  

उनका अनुसार हात्ती एकै स्थानमा बसिरहन मन पराउँदैन । उनका अनुसार कोशी टप्पु मध्यवर्ती क्षेत्रका हात्तीहरू पर्सा र चितवनसम्म पुग्छन् ।  

नेपालको पूर्वी नाका बाहुन डाँगी हुँदै नेपाल भित्रने हात्तीहरू भरतको आसामबाट आउँछन् । वेस्ट बङ्गाल हुँदै नेपाल भित्र हात्तीको समूह उदयपुर सम्म पुग्ने गरेका छन् । वेस्ट बङ्गाल कोरिडोरबाट नेपाल भित्रने हात्ती बिशेषत आहारका खोजीमा आएका हुन् । ती हात्ती वर्षमा २ पटक नेपाल भित्रने गरेका छन् । उनले भने एक पटक मकै पाक्ने सिजनमा अर्को धान पाक्ने सिजनमा । 

यो समयमा जङ्गलमा हात्तीको आहाराको पनि कमी हुने भएकाले हात्तीहरू गाउँ समेत पस्ने गरेको रामले बताए । 

अहिले त हाम्रो खेती प्रणाली फेरियो । उनले सुनाए,हामी १२ महिना नै मकै लगाउन थाल्यौ । धान पनि दुई सिजनमा लाग्ने गर्छ । खेतबारीमा धान मकैको अलावा १२ महिना नै विभिन्न खाले खेती भइरहेको हुन्छ । यसले गर्दा हात्तीलाई खानेकुराको अभाव भएन । हाम्रो फेरिएको खेती प्रणालीका कारण हात्ती यतै बस्न थालेका छन् । 

आधुनिक खेती प्रणाली सुरु भएपछि सरकारले उत्पादन बढाउनका लागि जिल्लामा धान, मकै लगायत बालीको जोन–सुपर जोन घोषणा गरेको छ । यस्ता कार्यक्रमबाट १२ महिना खेती हुन थालेपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको देखिन्छ । 

कोशी प्रदेशमा धरानदेखि झापा सम्म रहेको चार कोशे जङ्गल हात्तीको वासस्थान हो । तर हात्ती बस्ने वासस्थानमा पनि हात्तीको आहारा मासिएको छ । हात्तीलाई लहरा र बाँस मन पर्छ । तर पछिल्लो समय सामुदायिक वनहरूले बनको संरक्षण गरे पनि यस्ता वनस्पतिहरूको संरक्षण हुन नसकेकाले हात्ती गाउँ पस्न थालेको डा राम बताउँछन् । 


कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत यादव पनि फेरिएको खेती प्रणालीका कारण मानव हात्ती द्धन्द बढ्दै गएको बताए । 

मानिसहरूले लगाएको खेतीको लोभमा हात्तीहरू रैथाने भएर बस्न थाले । सिजनमा आउने हात्तीहरू बालीको लोभले यतै बस्ने र क्षति गर्न थालेपछि मानिसहरूले हात्तीलाई धराप थापेको यादव बताउँछन् । 

डिभिजन बन कार्यालय झापाका अनुसार रैथाने हात्तीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पाँच वर्षयता झापामा रैथाने हात्तीको सङ्ख्या झन्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । 

उनका अनुसार २०७५ सालमा  झापामा १०–१२ वटा रैथाने  हात्ती रहेकामा अहिले रैथाने हात्तीको सङ्ख्या ३० भन्दा धेरै पुगेको छ  । आहाराको खोजीमा सिजनमा आउने हात्ती समेत नफर्किएकाले रैथाने हात्तीको सङ्ख्या बढेको राई बताउँछन् ।