सुनसरी । सुनसरीको दुहबी नगरपालिका आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा जिल्लाकै सर्वोत्कृष्ट बनेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको जिल्ला स्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रममा दुहबी नगरपालिका सर्वोत्कृष्ट घोषित भएको हो ।
विभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहबीले ७१ प्रतिशत अंक हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वोत्कृष्ट बनेको हो । इटहरी उपमहानगरपालिका ६९ दशमलव १३ प्रतिशत अंक हासिल गर्दै दोस्रो बनेको छ ।
सुनसरीका १२ वटै स्थानीय तहबिच गरिएको मुल्याङकनमा बर्जु गाउँपालिका ६९ दशमलव ०३ प्रतिशत अंक हासिल गर्दै तेस्रो बनेको छ । पालिकाको वार्षिक रिपोर्ट, बजेट कार्यान्वयनको अवस्था लगायत विभिन्न ४० वटा सूचकको आधारमा मुल्याङकन गर्दा दुहबी, इटहरी र बर्जु गाउँपालिका पुरस्कृत बनेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो ।
उनीहरूलाई जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता र स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले सम्मान तथा पुरस्कृत गरे ।
स्वास्थ्य कार्यालय सुनसरीको रुषा उपाध्याय, पूजा कार्की र सिताराम मेहताको छनौट समितिले गरेको छनौटको आधारमा उनीहरूलाई पुरस्कृत गरिएको प्रसाईँले जानकारी दिए ।