विराटनगर । सीमामा घुमुवा प्रयोग गरेर तस्करीको लाइन चलाएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वार्टर तानिएका छन् । उनलाई आजैबाट हेडक्वार्टर तान्ने निर्णय भएको छ । उपरीक्षक कार्कीले भारतीय सीमामा तस्करीको लाइन चलाएको आरोप लागेको थियो । उनी २०८० फागुन २ गते मोरङको प्रहरी प्रमुखको रूपमा आएका थिए । सामान्यतः प्रहरी अधिकृतहरूको एक वर्षे अवधि पुरा भएपछि मात्र नियमित सरुवा हुने गर्छ । तर कार्कीलाई भने ८ महिनामै हेडक्वार्टर तानिएको हो । 
एसपी कार्कीले तस्करीको लाइन चलाएको भन्दै प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी परेको थियो । उनले तस्करीको सामानमा छुट दिएबापत विभिन्न व्यापारी र तस्करी चलाउनेहरूसँग मासिक लाखौँ रुपैयाँ लिने गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन भए पनि कुनै कारबाही भएको थिएन । उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।
उनी विरुद्ध २०८१ असारको पहिलो हप्ता मोरङका प्रहरी प्रमुख कार्कीले परिचालन गरेका घुमुवा विरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको थियो। उजुरीबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको थियो  ।  प्रहरी प्रधान कार्यालयले त्यसबारे निर्देशन गरेपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरूको बदनियत नदेखिएको प्रतिवेदन हेट क्वाटरमा पठायो ।
एसपी कार्की र उनले परिचालन गरेका घुमुवाले तस्करीको सेटिङ मिलाएको र लाखौँ रकम लिने गरेको उजुरीमा उल्लेख रहेको श्रोतको दाबी छ । । सादा पोसाकमा घुमुवा प्रहरी हौँ भन्दै तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको उजुरीमा उल्लेख छ ,। सो उजुरीमा ‘पटक–पटक उजुरी परे पनि घुमुवा प्रहरीहरूलाई कारबाही नगरी प्रदेश प्रहरी कार्यालयले पनि त्यही काममा खटाएको’ उल्लेख छ । निवेदनमा सीमा नाका, ढाट, दरैया, पोस्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको उल्लेख छ ।
उजुरीमा  कपडा तस्करहरूबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट ९ लाख, किराना पसलबाट २ लाख, भन्सार एजेण्डहरुबाट १ लाख, तरकारी, कुखुरा, ग्याँसका सामान, हार्डवेयर पसल तथा गाई गोरु तस्करहरूबाट लाखौँ रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उल्लेख छ । निवेदनमा तस्करीमा संलग्न सीमा क्षेत्रमा व्यापारीहरूको नाम, फोन नम्बर र पसलको नाम समेत उल्लेख छ ।