सुनसरी । इटहरीमा सम्पन्न अन्डर १३ जुनियर फुटबल प्रतियोगिताको उपाधि जहदा फुटबल क्लबले जितेको छ ।
इटहरी ९ स्थित स्थित डिभिएम स्कुल परिसरको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा जनपथ एकेडेमी विराटनगरलाई सडेन डेथमा पराजित गर्दै जहदाले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पनि दुवै टिमले ५-५ गोल सहित बराबरी खेलेपछि खेलको निर्णय सडेनडेथमा भएको हो ।
उपाधि विजेता जहदाले नगद ३० हजार रुपैयाँ र उपविजेता जनपथले २० हजार रुपैयाँ पाए । जनपथ एकेडेमीले सेमिफाइनलमा आयोजक जुटबिकास फुटबल फुटबल क्लबलाई पराजित गरेको थियो भने जहदाले महेन्द्र मेमोरियल स्कुल दुहबीलाई पराजित गर्दै फाइनल खेलेको हो ।
यसैबिच फुटबलमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीन जना फुटबलकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा प्रकाश देवान, दिवस राई र निर्मल तामाङ रहेका छन् ।
कार्तिक ६ गते देखी सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका विभिन्न १६ वटा टिमको सहभागिता रहेको थियो ।