इटहरी । इटहरीमा आगामी माघ १९ गते देखी दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

आयोजक द योङ ब्रदर्श क्लब इटहरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिइएको हो ।

जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा कोशी  प्रदेशका आठ वटा टिम सहभागी हुने द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । 

अध्यक्ष सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद एक लाख ३० हजार प्राप्त गर्नेछन् । अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको सुब्बाले बताए ।

प्रतियोगितालाई इटहरी उपहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको प्रतियोगिताका संयोजक विकास केसीले बताए । 

संयोजक केसीका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ । प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष भएको प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले उपाधि जितेको थियो ।