सुनसरी — १५ औं संस्करणको इटहरी गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीच प्रतिस्पर्धा हुने छ।

इटहरी रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । गत संस्करणमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली यूकेएफसीबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय जागृतिले पेनाल्टी शुटआउटमा ५–४ को नतिजा निकालेको थियो ।

गोल्डकपमा ८ टिमको सहभागिता रहनेछ । मच्छिन्द्र क्लब, साबिक विजेताजेता चर्च ब्वाइज युनाइटेड, झापा ११ फुटबल क्लब, एनआरटी, दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङ, धरान फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति र यूकेएफसीले भाग लिनेछन् ।

विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लबका संयोजक अनुरोध थापाले बताए । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख दिइने संयोजक थापाले जानकारी दिए ।