सुनसरी । आयोजक राष्ट्रिय जागृति क्लब १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ ।
शनिबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी)सँग २ –१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै युनाइटेड खर्साङ क्लब (यूकेएफसी) सेमिफाइनल प्रवेश गरेको छ ।
यूकेएफसीलाई सेमिफाइनलमा पुर्याउन सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए । खेलको ११ औँ मिनेटमा राष्ट्रिय जागृति क्लबले गोल गर्दै खेलमा अग्रता लिएको थियो । राष्ट्रिय जागृति क्लबका उमेश कार्कीले प्रहार गरेको कर्नरमा विदेशी खेलाडी एलेक्सले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर यूकेएफसीले जवाफी गोल गर्दै टिमलाई बराबरीमा पुर्यायो । खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृति क्लबका खेलाडीले फल गरेपछि पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोल गरेपछि यूकेएफसीले खेललाई बराबरी बनाएको हो । यूकेएफसीका सत्यम शर्माले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले रोक्न नसकेपछि गोल भएको थियो ।
खेल बराबरीमा पुगेपछि दुवै टिम आक्रमक भएका थिए । खेलको ५५ औँ मिनेटमा यूकेएफसीका हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलको म्यान अफ द म्याच यूकेएफसीका सत्यम शर्मा घोषित भए । उनले १० हजार पुरस्कार प्राप्त गरे ।
भोलीको दोस्रो क्वाटरफाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्यूरोड टिम (एनआरटी) र दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङ बीच हुनेछ । खेल दिउँसो ३ बजेबाट इटहरी रंगशालामा सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।