सुनसरी । दोस्रो तरहरा रन सम्पन्न भएको छ । १० किलोमिटर दौडमा दुई हजार बढि धावकहरु एकसाथ दौडिएको आयोजकले जानकारी दिएको छ । तरहरा रनमा दौडन विभिन्न जिल्लाबाट धावकहरु सहभागी भएका थिए । 

तरहरा चोकबाट सुरू भएको दौड ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोकमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा १० किलोमिटर दौड पुरा गर्ने सबै धावकहरुलाई आयोजकले मेडल प्रदान गरेको छ । 

दौडमा भाग लिन आएकाहरुलाई विभिन्न आठ वटा विधामा विभाजन गरिएको थियो । सबै विधागत विजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । 

१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी भए । यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी भए ।

स्पाइनल इन्जुरी भएकाहरूको समूहले एक किलोमिटर दौडमा सहभागीता जनाएका थिए ।

यस्तै, गृहिणी तथा पारिवारिक सदस्यहरुले तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी भएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले जानकारी दिए ।

क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राईले बताए ।