सुनसरी–केन्याली धावक जुलियस मौरीकी दोस्रो तरहरा १० किलोमिटर खुल्ला दौडको च्याम्पियन बनेका छन् । सुनसरीको तरहरा रनको आयोजनामा शनिवार भएको दौडमा दुई हजारभन्दा बढी धावक धाविकालाई पछि पार्दै मौरीकी च्याम्पियन बनेका हुन । धरान १० किलोमिटर रनमा दोस्रो भएका मौरीकीले निर्धारित दुरी ३१ मिनेट ७ सेकेन्डमा पुरा गरेका थिए । प्रतियोगितामा गजेन्द्र राई दोस्रो र सरोज लिम्बु तेस्रो भए । गजेन्द्रले ३२ मिनेट सात सेकेन्ड र सरोजले ३२ मिनेट नौ सेकेन्डमा निर्धारित दुरी पुरा गरे । महिला तर्फ पूर्व लक्ष्मी प्रथम भइन् । उनले निर्धारित दुरी ३८ मिनेट १० सेकेन्डमा पूरा गरिन् । सुनकला राई दोस्रो र दीक्षा राई तेस्रो भइन् । सुनकलाले ४७ मिनेट २० सेकेन्ड र दीक्षाले ५० मिनेट २० सेकेन्डमा निर्धारित दुरी पार गरीन् ।
६० वर्षमाथिका भेट्रान पुरुषतर्फ १० किलोमिटर दौडमा विजयकुमार अभियान प्रथम भए । धरानका विजयकुमारले १० किलोमिटर दौड ३८ मिनेट २ सेकेन्डमा पुरा गरेका थिए । यस्तै, अभिनारायण अधिकारी दोस्रो र लरमान अधिकारी तेस्रो भए । अभिनारायणले ३८ मिनेट ५ सेकेन्ड र लरमानले ४० मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम भइन् । धरानकी जमुनाले निर्धारित दौड ५० मिनेट ३१ सेकेन्डमा पुरा गरिन् । यस्तै, धरानकै कुसुम लिम्बु दोस्रो भइन भने कौशिला तामाङ तेस्रो भइन् । प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले नगद १० हजारसहित प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।
१६ वर्षभन्दा मुनी पुरुष दौडमा पवन राई प्रथम, श्यामतुम्मा राई दोस्रो र रुपेश माझी तेस्रो भए । महिलातर्फ जुही राई प्रथम, पूजा महतरा दोस्रो र विनीता राई तेस्रो भइन् । १२ वर्षभन्दा मुनीका महिलाको ३ किलोमिटर दौडमा रेशमा दर्जी प्रथम, करिना राई दोस्रो र स्वयता चौधरी तेस्रो भइन् । उनीहरूले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार प्राप्त गरे । ह्वील चियरतर्फ पुरुष एक किलोमिटर दौडमा सप्तरीका विष्णुकान्त चौधरी प्रथम भए । यस्तै, मोरङका नबिराज राई दोस्रो र इटहरीका नीराजन विक तेस्रो भए । ह्वील चियर महिला तर्फको दौडमा मोरङकी रोशनी लामा प्रथम, विराटनगरकी चन्द्रिका सरदार दोस्रो र धरानकी प्रतिमा दाहाल तेस्रो भइन् ।