विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले कानुनमा स्नातक (एलएल. बी.) र स्नातकोत्तर (एलएल. एम.) तहमा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी एलएल. बी. र एलएल. एम. मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो । 
स्नातक तहमा पाँच वर्षे बी.ए. एलएल. बी. र तीन वर्षे एलएल. बी. अध्यापन गराउँदै आएको कलेज अफ ल ले चालु शैक्षिक सत्रदेखि कानुनमा स्नातकोत्तर तहको एलएल. एम. तहको अध्यापन सुरु गरेको छ । एलएल. एम. मा ५० जना विद्यार्थी भर्ना भएका छन् । एलएल. बी. मा भने ६० जना विद्यार्थी भर्ना भएका छन् । चार वर्षदेखि बी.ए. एलएल. बी. मा एउटा सेक्सन सञ्चालन गर्दै आएको कलेजले चालु शैक्षिक सत्रदेखि एक सय २० जना विद्यार्थी भर्ना लिएर दुई वटा सेक्सनमा अध्यापन गर्न सुरु गरेको छ । 
colz of law
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु कुमार थपलियाले एलएल. एम. तहमा स्वदेश र विदेशका दक्ष प्राध्यापकहरूबाट अध्यापन गराउने जानकारी दिनुभयो । आफूले युरोपमा अध्ययन गर्दा विश्वभरका प्राध्यापकहरूले पढाएको स्मरण गर्दै उपकुलपति थपलियाले कलेज अफ ल मा अध्ययन गर्ने विद्यार्थीहरूले स्वदेश र विदेशका प्राध्यापकहरूको ज्ञान र अनुभव प्राप्त गर्ने बताउनु भयो । विशेषज्ञ प्राध्यापकहरूबाट अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनकै लागि स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उपकुलपति थपलियाले जानकारी दिनुभयो । कलेज अफ ल लाई व्यवस्थित बनाउन नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको भन्दै उपकुलपति थपलियाले नयाँ भवन निर्माण भइसकेपछि भौतिक पूर्वाधारको समस्या समाधान हुने बताउनु भयो । नयाँ संरचना निर्माण पश्चात् अध्ययन अध्यापनमा थप सहजता थप्ने उपकुलपति थपलियाको भनाई थियो । 

कलेज अफ ल का डाइरेक्टर महेश प्रसाद निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसले कुनै कसर बाँकी नराख्ने जानकारी गराउनु भयो । क्याम्पसमा पूर्ण कालिन प्राध्यापकको सङ्ख्या न्यून भएका कारण पठन पाठनमा समस्या आएको भन्दै डाइरेक्टर निरौलाले यो समस्या समाधान गर्न छिट्टै केही पूर्ण कालिन प्राध्यापकहरू थप गर्ने बताउनु भयो । 
कला, कानुन तथा शिक्षा संकायका पूर्व डीन प्राध्यापक डाक्टर अनिल कुमार पोखरेल, एलएल. एम. कार्यक्रमका संयोजक दीपक कुमार खतिवडा, प्राध्यापकहरू वरिष्ठ अधिवक्ता डिल्ली बहादुर कार्की, अधिवक्ता रुपेश कोइराला, निता प्याकुरेल भट्टराई लगायतले विद्यार्थीहरूलाई अभिमुखीकरण गर्नु भएको थियो । 
कलेज अफ ल ले स्नातक तहको पाँच वर्षे बी. ए. एलएल. बी., तीन वर्षे एलएल. बी., स्नातकोत्तर तहको दुई वर्षे एलएल. एल. कार्यक्रम सञ्चालन गर्दै आएको छ । पाँच वर्षे बी. ए. एलएल. बी. को पहिलो, दोस्रो र तेस्रो वर्षका कक्षाहरू दिउँसो सञ्चालन हुन्छन् भने चौथो र पाँचौँ वर्षका कक्षाहरू बिहान सञ्चालन हुन्छन् । एलएल. बी. र एलएल. एम का कक्षाहरू भने साँझको समयमा सञ्चालन हुँदै आएका छन् ।