सुनसरी– विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित सुनसरीमा सुरु भएको दोस्रो डिभिएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजकले विजयी सुरुवात गरेको छ ।
इटहरी ९ स्थित नेपाल डिभिएम ग्लोबल स्कुलको पिचमा बुधवार सम्पन्न उद्घाटन खेलमा आयोजकले टेण्डरफिट इङ्लिस स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको टेण्डरफिटले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ७१ रन जोडेको थियो ।
जवाफी ब्याटिङ गरेको डिभिएमले ९ दशमलव ५ बलमा २ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो ।
बुुधबारनै सम्पन्न दोस्रो खेलमा आयोजकको अर्को टिम डिभिएम सगरमाथाले इटहरी मोडल स्कुललाई ३४ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको डिभिएम सगरमाथाले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनको उच्च योगफल खडा गरेको थियो । जवाफमा १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इटहरी मोडलले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो ।
बिहीबारको पहिलो खेल युनिक एकेडेमी र माउन्ट मकालु आवासीय मावि बिच हुँदा दोस्रो खेल सुष्मा सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलबिच हुने आयोजकले जनाएको छ ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न १९ विद्यालयको सहभागिता रहेको छ ।
सुनसरीमा पहिलो पटक बिद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

















