सुनसरी । इटहरीमा जारी दोस्रो डिभिएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजक सहित जनता मावि, युनिक एकेडेमी, कोसी सेन्ट जेम्स र कस्तुरी एकेडेमीले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
क्वाटर फाइनलको अन्तिम आठमा प्रवेश गर्ने दुवै वटा टिम सोमबार हुने सुस्मा गोदावरी स्कुल र सुनसरी कृष्टल एकेडेमीबिचको लिग चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ ।
इटहरी ९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीको पिचमा जारी प्रतियोगिता अन्तर्गत लिग चरणको खेलहरूमा समूह ए को विजेता बन्दै आयोजक डिभिएम स्कुलले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ ।
उक्त समूहबाट सेन्डरफिट स्कुल र सेक्रेटहार्ट इङ्लिस स्कुल बाहिरिएका छन् ।

समूह बी बाट आयोजककै अर्को टिम डिभिएम सगरमाथाले दुवै खेलमा सत प्रतिशत जीत निकाल्दै क्वाटर फाइनल यात्रा तय गरेको छ ।
सो समूहबाट इटहरी मोडेल र सुकुना सेकेण्डरी स्कुल लिग चरणबाटै बाहिरिएका छन् ।
युनिक एकेडेमी समूह सी विजेता र जनता मावि इटहरी समूह डी को विजेताको रूपमा क्वाटर फाइनल प्रवेश गरेका छन् ।
समूह सी बाट माउन्ट मकालु र बालबिकास स्कुल बाहिरिँदा समूह डी बाट ग्रीनपिस एकेडेमी र महेन्द्र मेमोरियल स्कुल लिग चरणबाटै घर फर्किएका छन् । समूह ई बाट कोसी सेन्ट जेम्स स्कुल विजेता बन्दै क्वाटर फाइनल प्रवेश गर्दा बिश्वआदर्श स्कुल र लिटिल फ्लावर इङ्लिस स्कुल बाहिरिएका छन् । क्वाटर फाइनल चरणका खेलहरू सोमबारबाट सुरु हुने प्रतियोगिता संयोजक क्षितिज दाहालले जानकारी दिए ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न १९ विद्यालयको सहभागिता रहेको छ ।
सुनसरीमा पहिलो पटक बिद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

















