सुनसरी । बिश्वआदर्श कलेज इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुस्मा गोदावरी कलेज लिग चरणबाटै बाहिरिएको छ । मङ्गलवार भएको पहिलो खेलमा इटहरीको विश्व आदर्शले सुस्मा गोदावरी कलेजलाई १ सय ९३ रनको विशाल अन्तरले पराजित गर्दै समूह बी को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
बिश्वआदर्शले दुई खेलमा शतप्रतिशत जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्दा सुस्मा गोदावरी सहित उक्त समूहमा रहेको कस्तुरी कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।
इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्शले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रनको विशाल योगफल जोडेको थियो । बिश्वआदर्शका लागि सकुशल श्रेष्ठले शतकीय पारी खेले ।
विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलको सामना गर्दै १० छक्का र ६ चौकाको मदतमा १ सय २० रन बनाए । पहिलो खेलमा शतक बनाएका रोशन खत्रीले ३९ र आकाश सर्राफले १४ रनको योगदान दिए ।
बलिङतर्फ सुस्मा गोदावरीका रोशन पुरीले २ विकेट तथा सागर डोटेलले १ विकेट लिए ।
जवाफमा २ सय ३४ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा सुस्मा गोदावरी १३ दशमलव २ बलमा ४० रनमा समेटियो । सुस्माका तीन जना ब्याटरले खाता नै खोल्न सकेनन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खेलको प्लेयरअफद म्याच बिश्वआदर्शका सकुशल श्रेष्ठ घोषित भए ।
मंगलबारनै भएको दोस्रो खेलमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल इन्जिनियरिङले १७ ओभर खेल्दै १ सय २२ रनमा समेटिएको थियो ।
पूर्वाञ्चलका लागि काशीराम सन्जेलले ४९ रन र निशम कर्णले ११ रन बनाए ।
बलिङतर्फ महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ विकेट लिँदा प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट लिए ।
बाँकी एक विकेट सागर मोचीको नाममा रह्यो ।
जवाफमा १ सय २३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा महेन्द्र मोरङले १६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै जीत निकाल्न सफल भयो ।
महेन्द्र मोरङका अटल शाहले ५२ रन बनाउँदा सागर मोचीले ३५ र बियुष बस्नेतले १० रनको योगदान दिए ।
बलिङतर्फ पूर्वाञ्चलका काशीराम सन्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्र प्रसाद यादवले समान १–१ विकेट लिए ।
खेलको प्लेयरअफ द म्याच महेन्द्र मोरङका अटल शाह घोषित भए ।
यो जितसँगै समूह डी मा रहेको महेन्द्र मोरङले महत्त्वपूर्ण २ अंक हात पारेको छ । 
पूर्वाञ्चल इन्जिनियरिङले लिग चरणको आफ्‌नो दोस्रो खेलमा बुधवार झापा दमकको आस्था कलेजको सामना गर्नेछ ।
बुधबारनै हुने दोस्रो खेलमा जनता बहुमुखी क्याम्पस इटहरी र नमुना कलेज बिच प्रतिस्पर्धा हुने आयोजक इटहरी आदर्श जाइन्टका अध्यक्ष भूपाल लुइँटेलले जानकारी दिए ।
समूह ए मा रहेको कोसी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरको टिम नमुना कलेज उद्घाटन खेलमा बिश्वआदर्श कलेजको बी टिमलाई पराजित गर्दै महत्त्वपूर्ण २ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजका टोलीहरूको सहभागिता रहेको छ ।
ती टिमहरूलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।