सुनसरी  । केन्द्र सरकारको सिको गर्दै कोसी प्रदेशमा पनि खेलकुद विकास बोर्डको सदस्य सचिवमा कर्मचारीलाई काम गर्ने अधिकार प्रदान गरिएको छ । प्रदेश सरकारले उपसचिव दुर्गाप्रसाद सिग्देललाई रिक्त रहेको सदस्य सचिवमा नियुक्त गरेर अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि काम गर्ने अधिकार दिएको छ ।

शुक्रवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सिग्देललाई खेलकुद विकास बोर्डको सदस्य सचिव तोक्ने निर्णय गरेको हो ।

गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा नियुक्त गर्नुको साटो अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

केन्द्र सरकारले पनि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गर्नुको साटो खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई अर्को व्यवस्था नभएसम्मका लागि काम गर्ने अधिकार दिएको थियो ।