सुनसरी । कोसी प्रदेश पालिकास्तरिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि पांचखपन नगरपालिकाले जितेको छ ।
मङ्गलवार सम्पन्न फाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै संखुवासभाको पांचखपन नगरपालिकाले उपाधि जितेको हो । इटहरी रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेट २५–२० ले इटहरीले जितेको थियो ।
दोस्रो सेट २५–१६ ले जितेको पांचखपनले तेस्रो सेट पनि २५–१४ ले आफ्‌नो पक्षमा पार्दै पुनरागमन जीत तर्फ अघि बढेको थियो । 
तर इटहरीले चौथो सेट २५–१७ ले आफ्‌नो पक्षमा पार्दै खेल २–२ सेटको बराबरीमा ल्याएको थियो ।
प्रतिस्पर्धात्मक खेलको अन्तिम सेटमा पांचखपनले १६–१४ ले जित्दै उपाधि हात पार्न सफल भयो ।
प्रतियोगिताको विजेता टिम पांचखपनले नगद १ लाख रुपैयाँ र उपविजेता इटहरीले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।
सेमिफाइनलमा पराजित  बेलबारी नगरपालिका र कोसी प्रदेश प्रहरी टिमलाई पनि सान्त्वना पुरस्कारको रूपमा १०–१० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
विजेता तथा उपविजेता टिमलाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेताले पुरस्कार प्रदान गरे ।
इटहरी भलिबल क्लबले माघ ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा कोसी प्रदेशका विभिन्न ८ वटा पालिकाका टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी हुने टिमले बढीमा तीन जना मात्र राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था गरिएको थियो ।
उक्त तीन जना खेलाडी कोसी प्रदेशकै हुनुपर्ने नियम बनाएर प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।