इटहरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेटमा आयोजक सहित जनता मावि, पूर्वाञ्चल स्कुल र ब्राइट फ्युचरले विजयी सुरुवात गरेका छन् । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा जनता माध्यमिक विद्यालयले कोसीसेन्टजेम्सलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यसअघि हुने भनिएको आयोजक कस्तुरी स्कुल र लिटिल पिस हेभनबिचको खेलमा लिटिल पिस नआएपछि कस्तुरीले वाक ओभर पाएको छ ।
शनिबारनै भएको तेस्रो खेलमा ब्राइट फ्युचरले हाम्रो बोर्डिङ स्कुललाई पराजित गर्दा अर्को खेलमा पूर्वाञ्चल स्कुलले शारदा मावि खनारलाई पराजित गरेको छ । विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न २१ विद्यालयको सहभागिता रहेको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीलाई नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
माघ १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रति रुचि बढाउनुका साथै नयाँ खेल प्रतिभा उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

















