सुनसरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेटको उपाधी इटहरीको जनता माबिले जितेको छ ।

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल डिभिएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै उपाधी जितेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको डिभिएमले घरेलु मैदानमा निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाउदै ६३ रनको समान्य योगफल जोडेको थियो ।

डिभिएमका लागि दिवस बिष्टले सर्वाधिक २२ रन बनाए । रिवाज बोहराले १९ रन जोडे ।

जवाफमा ६४ रनको बिजयी लक्ष्य जनता माबिले ९ ओभर १ बलमा ६ विकेट गुमाए पुरा गर्यो । जनता माबिका प्रबिन मण्डल २८ र सुन्दर राई १३ रनमा अभिजित रहे ।

डिभिएमका आदित्य पौडेलले ह्याटिक सहित महत्वपूर्ण तीन बिकेट लिए पनि टिमलाई जिताउन सकेनन ।

आदित्य प्लेयरअफद फाइनल बने । बिजेता जनता माबिले नगद ३० हजार र उपबिजेता डिभिएमले नगद १५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डिभिएमका दिवस बिष्ट घोषित भए । प्रतियोगिताभर उनले ६० रन बनाउनुका साथै ६ विकेट लिएका थिए ।

बेष्ट बलर जनता माबिका प्रबिन मण्डल भए । उनले ४ खेलमा जम्मा ९ बिकेट हात पारेका थिए । बेष्ट ब्याटर ग्रिनपिस एकेडेमीका रबिन खत्री भए ।

३ खेलमा उनले १ सय १७ रन बनाएका थिए ।

उदयमान खेलाडी डिभिएमका आदित्य पौडेल घोषित भए । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, उपाध्यक्ष संजिब ढुंगाना, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल लगायतले पुरस्कार बितरण गरे ।

विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न २१ विद्यालयको सहभागिता रहेको थियो ।

माघ १० गतेदेखी सुरु भएको प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राबिधिक सहयोगमा सञ्चालन भएको हो ।