सुनसरी । आयोजक झापा ११ फुटबल क्लबले खेल तालिका जुधाएर सार्वजनिक गरेपछि लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड आज एकै दिन दुई वटा गोल्डकप खेल्नुपर्ने बाध्यतामा परेको छ ।


चर्च ब्वाइजले आज २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप र सातौँ झापा गोल्ड कपका खेल खेल्नुपर्ने भएको क्लबका अध्यक्ष रुबेन राईले जानकारी दिए । उनका अनुसार, खेल तालिका जुधेका कारण क्लब गम्भीर समस्यामा परेको हो ।


गत माघ ७ गते आयोजक धरान फुटबल क्लबले बुढासुब्बा गोल्ड कपको खेल तालिका सार्वजनिक गर्दै चर्च ब्वाइज र नेपाल पुलिस क्लबबिच आज दोस्रो क्वाटर फाइनल खेल तय गरेको थियो । तर त्यसको करिब एक सातापछि झापा गोल्डकप आयोजक झापा ११ फुटबल क्लबले खेल तालिका सार्वजनिक गर्दा चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबिच प्रि–क्वाटर फाइनल खेल तोकिएको हो ।


धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले दुवै प्रतियोगिताको तालिका समन्वयकै आधारमा सार्वजनिक गरिएको दाबी गरे ।

उनले भने, “उहाँहरूको आग्रहमा सुरुमा बुढासुब्बा गोल्ड कपको तालिका सार्वजनिक गर्ने र त्यसकै आधारमा झापा गोल्ड कपको टाई सिट बनाउने सहमति भएको थियो । तर त्यसअनुसार काम भएन र टिम जुधाएर खेल राखियो ।”


खेल तालिका जुधाएकै कारण बुढासुब्बा गोल्ड कपको दोस्रो प्रि–क्वाटर फाइनलमा जित हात पारेको २४ घण्टा नबित्दै झापा ११ ले हिजो उद्घाटन खेल खेल्नुपरेको थियो । उक्त उद्घाटन खेलमा झापा ११ सँग पराजित नेपाल पुलिस क्लबले आज चर्च ब्वाइजसँग बुढासुब्बा गोल्ड कपमा प्रतिस्पर्धा गर्दैछ ।


एकै दिन खेल नजुधाउन पटक–पटक आग्रह गर्दा पनि झापा ११ फुटबल क्लबले बेवास्ता गरेको चर्च ब्वाइजका अध्यक्ष राईले गुनासो गरे ।

उनले भने, “२–३ करोड रुपैयाँ खर्च गरेर क्लबलाई लिग च्याम्पियन बनाइयो । तर लिग च्याम्पियन क्लबकै मोफसलका गोल्ड कपमा आयोजकले सम्मान नगर्दा नेपाली फुटबलको इज्जत कसरी जोगिन्छ रु”


एकै दिन दुई प्रतियोगिता खेल्नुपर्दा खेलाडी र प्रशिक्षक बाँडिनुपर्ने अवस्था आएको र त्यसले टोलीभित्र मनमुटाबको जोखिम बढाउने राईको भनाइ छ ।


यता झापा ११ फुटबल क्लबका सदस्य सन्तोष थोप्राले प्राविधिक कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । उनले आगामी दिनमा यस्तो कमजोरी नदोहोर्‍याउन आयोजक सचेत रहने बताए ।

चर्च ब्वाइज युनाइटेड गत संस्करणको झापा गोल्डकप च्याम्पियन तथा बुढासुब्बा गोल्ड कपको उपविजेता टोली हो ।