सुनसरी । इटहरीमा आजदेखि सुरु भएको तेस्रो मेयर कप अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा इटहरी उपमहानगरपालिकाले विजयी सुरुवात गरेको छ ।
बुधवार भएको उद्घाटन खेलमा इटहरी रातोले सुनसरीकै दुहबी नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो । इटहरीस्थित डिभिएम स्कुलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दुहबी नगरपालिकाले निर्धारित २० ओभरमा १० विकेट गुमाएर ३६ रन मात्र बनाउन सक्यो ।
कमजोर प्रदर्शन गरेको दुहबीलाई कम स्कोरमा समेट्न इटहरीका बलरहरू प्रभावशाली देखिएका थिए । विकल्प आचार्य, कप्तान भूपाल लुइँटेल र प्रकाश कार्कीले ३–३ विकेट लिएको खेलमा दुहबीका विशाल ढकालले १२ रन बनाउँदा सूर्य रौनियारले ८ रन मात्र बनाउन सकेनन् ।
दुहबीका ४ जना ब्याटर शून्य रनमै पेभेलियन फर्किए ।
जवाफमा ३७ रनको सामान्य लक्ष्य पछ्याएको इटहरी उपमहानगरपालिका रातोले मात्र १ दशमलव ५ बलमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इटहरीको जितमा शिवांश बजगाईँले आक्रामक ब्याटिङ गर्दै ९ बलमा ५ चौका र २ छक्का सहित अविजित ३३ रन बनाए ।
ऋतेश राय ५ रनमा अविजित रहे । दुहबीका बलर रमेश चौधरी र अमन अलि महँगा साबित भए ।
अमन अलीले आधा ओभरमा २४ रन खर्चिएका थिए । खेलको प्लेयर अफ द म्याच इटहरी रातोका विकल्प आचार्य घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन । पहिलो खेलमा भोक्राह नरसिंह गाउँपालिका र इटहरी निलोबिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा मेचीनगर पालिका र धरान उपमहानगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक एवंम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जानकारी दिए ।
जेठ ५ गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका १२ वटा पालिकाको टिमले प्रतिस्पर्धा गर्नेछन ।
आइडियल स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार र उपविजेताले ४० हजार पुरस्कार पाउनेछ ।
यसैगरी ‘प्लेयर अफ द सिरिज’ लाई नगद ७ हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही ४ हजार रुपैयाँ प्रदान गरिनेछ ।

















