सुनसरी । मोरङको सुन्दरहरैचास्थित सुकुना खेल मैदानमा सम्पन्न प्रथम सुन्दरहरैचा खोर्साने अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सहलेश युवा क्लबले जितेको छ ।
शनिवार भएको फाइनल खेलमा आरटीएफसी धरानलाई २–१ गोल अन्तरले पराजित गर्दै सहलेशले पहिलो संस्करणको उपाधि आफ्नो नाममा पारेको हो । सहलेशको जितमा डेबिडसी मेस्सी र विवेक पौडेलले एक–एक गोल गरे ।
धरानका तर्फबाट मिलन लिम्बुले एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।
खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिएका थिए । खेलको चौथो मिनेटमै डेबिडसी मेस्सीले गोल गर्दै सहलेशलाई अग्रता दिलाएका थिए ।
तर त्यो अग्रता लामो समय टिक्न सकेन । त्यसको एक मिनेटपछिनै धरानका मिलन लिम्बुले विनोद राईको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै सहलेशले पुनः दबाब बनायो ।
दोस्रो हाफको चौथो मिनेटमा विवेक पौडेलले पेनाल्टी मार्फत निर्णायक गोल गरेपछि सहलेशले २–१ को अग्रता लिएको थियो ।
त्यसपछि अन्तिम समयसम्म आफ्नो अग्रता जोगाउँदै सहलेशले उपाधि कब्जा गर्न सफल भयो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सहलेशका विवेक पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
उपाधिसँगै सहलेशले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता आरटी एफसी धरानले नगद १ लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।
जेठ २ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी टोलीसहित ८ टोलीको सहभागिता रहेको आयोजक सुन्दर खोर्साने युवा समूहले जनाएको छ ।

















