सुनसरी । पूर्वी नेपालका बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा थप समस्या जटिल बन्ने गरेको छ ।
धेरै अभिभावकहरुलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको अवस्थामा तालिम दिइएको हो । साना बालबालिकाहरुमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा समेत चिन्ता बढ्दै गएपछि अभिभावकहरूलाई सचेतना दिन तालिम दिइएको हो ।
     काठमाडौँको वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीसँगको सहकार्यमा इटहरीस्थित अभनिश चाइल्ड केयर सेन्टरले इटहरीमा १५ दिने ‘अभिभावक - बालबालिका तालिम’ आयोजना गरेको हो । तालिमको आज समापन गरिएको छ । वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीको सञ्चालक तथा अटिजम क्षेत्रको वरिष्ठ प्रशिक्षक एन्जी डेन्जेङ्पाले ‘अभिभावक - बालबालिका तालिम’ को प्रशिक्षण गर्नुभएको थियो ।
        पूर्वी नेपालमै पहिलो पटक अटिजम भएका बच्चाहरूको अभिभावकहरूलाई अटिजमका बारेमा सचेतना तालिम दिइएको आयोजकले जनाएको छ । दुई हप्ते तालिममा सुनसरी, मोरङ, झापा, उदयपुरका ३० जना अटिजम भएका बच्चाहरूको अभिभावकको सहभागिता थियो । तालिममा अटिजम भएका बालबालिकाहरूलाई कसरी हेरचाह गर्ने र सामान्य जीवनयापन गर्न सहयोग पुग्ने तौरतरिका सिकाउनका साथै आधारभूत थेरापीको बारेमा प्रशिक्षण गराइएको हो ।