सुनसरी । २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक धरान फुटबल क्लबले माघ १९ देखी २६ गतेसम्म हुने गोल्ड कपको खेल तालिका आइतबार सार्वजनिक गरेको हो । आयोजकले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटर फाइनल खेलमा माघ २० गते आयोजक फुटबल क्लब र युकेएफसी भारतबिच खेल हुनेछ । माघ २१ गते हुने तेस्रो क्वाटर फाइनलमा भुटानको आरटिसी फुटबल क्लब र इटहरीको राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुनेछ । अन्तिम क्वाटर फाइनलमा माघ २२ गते साबिक विजेता न्यरोड फुटबल टिम काठमाडौँ र काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 
    धरान १६ स्थित धरान रङ्गशालामा हुने प्रतियोगितामा आयोजक क्लब सहित ८ टिम सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिए । विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउँदा उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ९८ लाख ७५ हजार खर्च हुने र विभिन्न निकाय तथा व्यक्तिहरूबाट १ करोड २ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजकको अनुमान छ । प्रतियोगितालाई धरान उपमहानगरपालिकाले संयोजक गरेको छ ।