काठमाडौं । स्पेन युरो कप -२०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २-१ ले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो । स्पेनले १-० पछि परेको अवस्थमबाट पुनरागमन गरेको हो । स्पेनको जितमा लमिन यमल र डानी ओल्मोले गोल गरे । यमल युरो कपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । एलिएन्ज एरेनामा ७० हजार दर्शक माझ फ्रान्सले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । खेलको नवौं मिनेटमा कप्तान केलियन एम्बाप्पेको पासमा रान्डल कोलो मुअनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर २१औं मिनेटमा यमलले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि स्पेनले बराबरी गोल फर्कायो । १६ वर्ष तीन सय ६२ दिनका यमल युरो कपमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बने । त्यसको ४ मिनेट पछि डानी ओल्मोले गोल गर्दा स्पेन पहिलो हाफमै २-१ ले अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसकेपछि स्पेन २-१ को जितसहित फाइनलमा प्रवेश गर्‍यो ।

सन् १९६४, २००८ र २०१२ को विजेता स्पेन चौथो पटक युरो कप जित्ने लक्ष्यमा छ भने १९८४ र २००० मा युरो उपाधि जितेको फ्रान्स सेमिफाइनलबाटै बाहिरियो । दोस्रो सेमिफाइनल खेलमा आज राति इंग्ल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै छन् । यस खेलको विजेताले आइतबार राति हुने खेलमा स्पेनको सानमा गर्ने छ ।