सुनसरी । मोरङको कानेपोखरीको खास परिचय भने खीरसँग जोडिन्छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरीको खीर नचाख्ने यो बाटो प्रयोग गरेर हिँडिरहने कमै होलान् । त्यसैले खीरका पारखीहरू मोरङको कानेपोखरीमा रोकिएर खीर नखाईकन जाँदै जाँदैनन् ।
कानेपोखरीमा झोडा फाँडेर जब मान्छेहरू बस्न थाले त्यही बेलाबाट छाप्रामा होटेल पनि खुले । पूर्वपश्चिम सडक मात्रै भएर होइन मोरङको पुरानो सदरमुकाम रङ्गेली र पुरानो बजार लेटाङ पनि यहीबाट छुटिने भएकाले कानेपोखरीमा बटुवाको चहलपहल पहिलेदेखि नै थियो । दोबाटो भएकाले बाटो हिँड्नेहरू रोकिएर चिया खाजा खान्थे । अहिले जस्तो अनेक प्रकारका खाजा थिएनन् । त्यसैले ३० को दशकबाट यहाँका होटेलमा नेपाली परिकार खीर पनि पाक्न थाल्यो । त्यो बेला खीर बेच्नेहरू धेरैले होटेल छाडे । ६९ वर्षीया हेमकुमारी खरेल भने अहिले पनि खीर बेचिरहेकी छन्, कानेपोखरी बजारमा ।
उनले कानेपोखरीमा खीर बेच्न थालेको ५० सालदेखि हो । अलि तल बयरवन बजारबाट उनी ५० सालमा होटेल गर्न कानेपोखरी आइन् । सानो छाप्रोमा होटेल थालेदेखि खीर नपाकेको कुनै दिन छैन, हेमकुमारीको होटेलमा । निरन्तर खीर बेच्ने अब उनी मात्रै छन् । अरूले बेला मौका खीर बेच्छन् । तर तीन छोरीकी आमा हेमकुमारी भने अझै खीर बेच्नमै रमाइरहेकी छन् ।
ऊनकोमा खीर खान सुनसरी मोरङबाट मात्रै आउँदैनन् । उनका ग्राहक नजिकका भन्दा टाढाका बढी छन् । भारतको दार्जिलिङ, सिक्किम, असाम, मेघालयबाट समेत आउने यात्रु समेत ऊनकोमा खीर खान बस्छन्। धरान विराटनगरबाट मात्रै होइन काठमाडौँ पोखरादेखि आउने यात्रु पनि उनले पकाएको खीर सम्झेर आउँछन् । उनका अनुसार खीरमा अहिले नाफा कम छ । पहिलेजस्तो खीरका पारखीहरू अचेल कम आउँछन् । खीरका साथै अन्य परिकार पनि पाक्छन् । चाउमिन, मोःमो चाउचाउमा फाइदा छ । होटेलमा अहिले खीरभन्दा चाउमिन, मोःमो नै बढी बिक्छ । उनले होटेल सुरु गर्दा एक रुपैयाँमा तीन लिटर दूध पाइन्थ्यो । उनी अढाई रुपैयाँमा एक प्लेट खीर बेच्थिन् । दिनमै उनले ५० लिटर दूधको खीर बेच्दा नाफा प्रशस्तै थियो, उमेरको कुरा सुनाइन्, हेमकुमारीले । उनले होटेल सुरु गर्दा काठमाडौँबाट काँकडभिट्टा, भद्रपुर, इलाम, पशुपतिनगर जाने नाइट बसको बिहानको खाजा खाने ‘जक्सन’ थियो कानेपोखरी । गाडीबाट हुरुरुरु मान्छेहरू आउँथे, खीर खान्थे जान्थे । दिनमा पाँच पटकसम्म खीर पकाउँथिन्, उनी । बाटो चिल्लो भयो । गाडीहरू सुविधा सम्पन्न भए । अहिले खाजा खाने बेलामा त मान्छेहरू घरैमा पुग्छन् । त्यसैले कानेपोखरीमा रोकिँदैनन् नाइटबस । हेमकुमारीले अचेलको कुरा गरिन् ।
नाइट बसमा धेरै मान्छे त हिँड्नै छाडे । कानेपोखरीको खीर पनि कम बिक्न थाल्यो । गाडी भएकाहरूलाई मात्रै हो कानेपोखरीको खीरले तान्ने । अचेल एक लिटर दूधको मूल्य ९० रुपैयाँ पुगेको छ । ऊनकोमा अहिले १० लिटर दूधको खीर पाक्छ । कहिले सबै बिकिसक्छ । कहिले फाल्नु पनि पर्छ । उनले खीर बेच्दाको पिर सुनाइन् ।